कृषि र व्यवसायमा ६४ करोड कर्जा लगानी

बुधबार १०, आश्विन २०८० |

कृषि र व्यवसायमा ६४ करोड कर्जा लगानी
अधिकांशले लिएको ऋण जुन प्रयोजनका लागि लिएका हुन त्यहीँ क्षेत्रमा नभई अन्य क्षेत्रमा खर्च गरेको समेत पाइएको छ, जसका कारण सम्झौताबमोजिम भनेकै समय ऋण चुक्ता नगर्ने, समयमै किस्ता तथा ब्याज नतिर्ने समस्या बढ्दै गएको छ ।

जुम्ला– राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले जिल्लामा हालसम्म विभिन्न प्रयोजनका लागि ६४ करोड ऋण लगानी गरेको छ । चालु आवबाट ऋण लगानी रोकेको बैंकले गत वर्षको असार मसान्तसम्म ६४ करोड कर्जा प्रवाह गरेको हो ।बैंकले व्यापारी कर्जा, व्यावसायिक कृषि कर्जा, सरल पेसाकर्मी कर्जा, सुन कर्जा, गाडी कर्जा, विपन्न कर्जा, व्यक्तिगत कर्जा, राष्ट्रसेवक कर्जा, शिक्षक कर्जा, महिला उद्यमशीलता कर्जा, घर कर्जालगायतमा करिब एक दर्जन शीर्षकमार्फत ऋण लगानी गरिरहेको छ ।जसमा सबैभन्दा धेरै व्यापारिक कर्जामा लगानी भएको बैंकमा जुम्ला शाखा प्रबन्धक नवराज खनालले बताए । उनका अनुसार बैंकबाट हालसम्म व्यापारिक कर्जा शीर्षकअन्तर्गत चालु र आवधिक गरी २८ करोड ९७ लाख ऋण लगानी गरेको छ ।सरल पेसाकर्मी कर्जातर्फ १३ करोड, व्यावसायिक कृषि कर्जाअन्तर्गत चालु कर्जातर्फ २ करोड २४ लाख र आवधिक कर्जातर्फ १४ करोड ऋण लगानी गरेको बैंकले जनाएको छ । त्यस्तै, विपन्न कर्जामा १४ लाख, सुन कर्जामा ४ करोड, गाडी कर्जामा २ करोड ५० लाख गरी विभिन्न शीर्षकबाट हालसम्म बैंकले ६४ करोड ऋण लगानी गरेको शाखा प्रबन्धक खनालले बताए ।उनले भने, ‘व्यावसायिक कृषि कर्जाको १४ करोडमध्ये १ करोड कर्णाली प्रदेश कृषि मन्त्रालयअन्तर्गत किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रमअन्तर्गत ऋण लगानी भएको छ, जसको ब्याज सरकारले तिर्दै आएको छ । जुम्लाका १० जना किसानले सरकारको ब्याज अनुदानको १ करोड ऋण लिएका छन् ।’कोरोनापछि अर्थतन्त्र थला परेकै कारण ऋण असुलीमा निकै समस्या आएको छ । बैंकको गत असार मसान्तको खराब कर्जा मात्रै ७ प्रतिशत रहेको छ । पछिल्लो समय ऋण असुलीमा समस्या देखिएपछि लगानीमा समेत चुनौती देखिएको छ ।अधिकांशले लिएको ऋण जुन प्रयोजनका लागि लिएका हुन त्यहीँ क्षेत्रमा नभई अन्य क्षेत्रमा खर्च गरेको समेत पाइएको छ, जसका कारण सम्झौताबमोजिम भनेकै समय ऋण चुक्ता नगर्ने, समयमै किस्ता तथा ब्याज नतिर्ने समस्या बढ्दै गएको छ ।विगतका तीन वर्षमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको कारण अर्थतन्त्र ओरालो लागेको थियो । उद्योग–कलकारखाना, आयात निर्यात सबै ठप्प हुनुका साथै लाखौंको संख्यामा रोजगारी गुमेपछि अर्थतन्त्र नराम्ररी थलिएको हो, जसको प्रभाव अझै कायम रहेको छ । कोरोनापछि अर्थतन्त्र अझै लयमा फर्किएको छैन ।कोरोनापीडित व्यापारी उद्यमीलाई ब्याजमा अनुदान, राहत प्याकेज ल्याउने घोषणा गरेको सरकारले कुनै सहुलियत नदिँदा पलायन हुने स्थिति आएको व्यवसायीहरू बताउँछन् । उद्योगी–व्यवसायीलाई बैंक–वित्तीय संस्थाको साँवा त परै जाओस्, ब्याज तिर्नै मुस्किल भएको छ । कोरोनापछि अधिकांश वित्तीय क्षेत्रले ऋण लगानी गर्न छोडेका छन् ।जुम्लामा बैंकले कृषि उत्पादन वृद्धि, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता विकासका लागि करोडौं रुपैयाँ ऋण लगानी गरेको छ । विभिन्न शीर्षकअन्तर्गत बैंकले जुम्लाका व्यापारी, उद्यमी, व्यावसायिक कृषिलाई बैंकको नियमानुसार ऋण उपलब्ध गराएको जनाएको छ । अन्य बैंक–वित्तीय क्षेत्रले ऋण प्रवाह विगत केही वर्षयता रोके पनि राष्ट्रिय वाणिज्य बैंकले उद्यमी, किसानलाई सम्बोधन गर्दै आइरहेको छ ।


हाम्रो सिफारिस